२०७४ श्नावण ३० गते जारी नेपाल सरकारद्वारा गठित वार्ता समितिको प्रेस विज्ञप्ति

डा. गोविन्द के.सी.ले विभिन्न माग पेश गरी अनशनरत रहेको अवस्थामा नेपाल सरकारद्वारा गठित वार्ता समितिले माग सम्बोधन गर्ने सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू, राजनैनिक दलका प्रमुखज्यूहरु, उपप्रधानमन्त्री तथा मन्त्रीज्यूहरु, पूर्व उपप्रधानमन्त्रीज्यूहरु, पूर्व शिक्षा र स्वास्थ्य मन्त्रीज्यूहरु, व्यवस्थापिका संसदका माननीय सदस्यज्यूहरु, नागरिक समाजका बरिष्ठ महानुभावहरु, माथेमा कार्यदलका पदाधिकारीहरु, नेपाल चिकित्सक संघ लगायतका चिकित्सा सम्बद्ध संस्थाका पदाधिकारीहरु लगायतका निकाय तथा पदाधिकारीहरुसंग वार्ता समितिले औपचारिक तथा अनौपचारिक परामर्श तथा छलफल गरी समस्या समाधानको भगिरथ प्रयास गरिरहेको विदितै छ।यस क्रममा डा. के.सी.का वार्ताका लागि तोकिएका प्रतिनिधिहरुसंग पटक पटक सहमतिको अन्तिम बिन्दुमा पुग्न लागि सकेको अवस्थामा डा. के.सी.का प्रतिनिधिहरु वार्ताबाट विमुख भई वार्ता निरन्तरता दिन असमर्थ भएको यस परिस्थिति प्रति वार्ता समिति दु:ख प्रकट गर्दछ।

डा. के.सी.ले उठाएका मागहरु सम्बोधन गर्ने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू, प्रमुख राजनैनिक दल, उपप्रधानमन्त्री तथा मन्त्रीज्यूहरु, पूर्व उपप्रधानमन्त्रीज्यूहरु, पूर्व शिक्षा र स्वास्थ्य मन्त्रीज्यूहरु, व्यवस्थापिका संसदका माननीय सदस्यज्यूहरु, नागरिक समाजका बरिष्ठ महानुभावहरु, माथेमा कार्यदलका पदाधिकारीहरु, नेपाल चिकित्सक संघ लगायतका चिकित्सा सम्बद्ध संस्थाका पदाधिकारीहरु लगायतबाट भएको उल्लेखनिय प्रयासका लागि वार्ता समिति आभार व्यक्त गर्दै वार्तालाई सकारात्मक निष्कर्षमा पुर्‍याई डा. के.सी.को जीवन रक्षा गर्न वार्ता समिति थप सकारात्मक सहयोगका लागि वार्ता समिति सम्बद्ध सबै प्रति आग्रह गर्दछ।

डा. के.सी.का मागहरु वार्ताबाटै सम्बोधन गर्ने अभिप्रायले आज मिति ले २०७४ साउन ३० गते डा. के.सी.का प्रतिनिधिहरुलाई आमन्त्रण गरिएकोमा वहाँहरु वार्तामा सामेल हुन नआएको, डा. के.सी.को प्रमुख माग चिकित्सा शिक्षा सम्बन्धी विधेयक व्यवस्थापिका संसदमा पेश भई निर्णय हुने अवस्थामा रहेको साथै अन्य माग समेत तत्काल सम्बोधन हुन सक्ने अवस्था रहेकोले हाल मूलुकका विभिन्न क्षेत्रमा अकल्पिनय प्राकृतिक प्रकोप, बाढी तथा पहिरोबाट धनजनको ठूलो हानी नोक्सानी भएको कारण स्वास्थ्य क्षेत्रमा समेत थप जनशक्ति परिचालन गरी नागरिकहरुको जीवन रक्षा गर्नुपर्ने सबैको दायित्व रहेको अवस्थामा प्रा.डा. गोविन्द के.सी. लाई तत्काल अनशन अन्त्य गर्न वार्ता समिति हार्दिक अपिल गर्दछ।